• निषिद्ध बस्ती

    ~एउटी नगरवधुको डायरी~
    >विवश पोखरेल <

    प्रत्येक साँझसंगै सुरू हुन्छ
    मेरो जीवनका दिनचर्या
    जब सहर बल्छ / म निभ्छु
    जब झलमल्ल रात फुल्छ
    म ओइलिन्छु
    जोसंग जे छ, त्यही बेच्ने त हो
    किन्नेहरू किन्छन् त म के गरूँ ?

    यो नगरमा-
    सधैं बेइमानहरूको स्वागतार्थ
    अधिकांश इमान्दारहरू
    माला लिएर ठिङ्ग उभिएको देख्छु
    प्रशंसाका लोरीसंगै-
    स्तुति र भजन गाएको देख्छु ।

    यहा“ इमान बेच्नेहरूको
    कुनै चर्चा हुँदैन।
    पापी भुँडीका लागि मैले अलिकति
    लाजसम्म बेचेको न हुँ
    जसरी मान्छेहरू ठेक्कामा
    माटो बेच्छन् /कुर्सी बेच्छन्
    त्यसरी नै-
    क्षणिक भोगाधिकारका लागि
    मैले अलिकति शरीर बेचेको न हुँ ।

    ससाना कुरामा ठूलाठूला आन्दोलन र
    बन्द हडताल हुने यो देशमा
    किन मेरो शरीरको मात्र चर्चा हुन्छ
    मेरो विवशताको किन चर्चा हुँदैन ?
    मेरो भोकको किन चर्चा हुँदैन ?
    यो देशको अभागी नागरिक म
    मनभरि अनगिन्ती पीरको भारी बोकेर
    निदाउन खोज्छु सक्दिनँ ।
    सधैं समानता आरक्षण र अधिकारका
    कुरा उठिरहेका बेला
    आफ्ना सम्पूर्ण पीडा बिर्सेर
    जीवनको चौतारीमा केही क्षण
    सुस्ताउन खोज्छु सक्दिनँ ।
    यसो सोच्छु, सोचको धरातल
    अझ फैलिन्छ / अग्लिन्छ
    किन महाशय ! यो शहरमा
    नगरवधूको मात्र चर्चा हुन्छ
    अनुहारमा भलाद्मीको खास्टो ओढेर
    हामीसँगै समागममा लिप्त
    नगरवरहरूको किन चर्चा हुँदैन ?